काठमाण्डौ । आज म्याग्दी, मकवानपुर,दोलखा,सिन्धुपाल्चोक, रामेछापमा बाढीको उच्च जोखिम रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै काठमाण्डौ उपत्यकासहित विभिन्न ५४ जिल्लामा बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी,मधेश, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ । बाढीको उच्च र मध्यम जोखिम भएका तथा आसपासका जिल्लाहरु भई बहने नदी तथा खोलामा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका धेरै ठाउँमा तथा तराई भागका केही ठाउँमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजराति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका धेरै ठाउँमा तथा बाँकी प्रदेशका केही ठाउँमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । गएराति पनि मधेश प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ । मौसमविद् विनु महर्जनका अनुसार अबका एक/दुई दिनमा सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशसहित देशभर पानी पर्न सक्ने सम्भावना देखिएको छ ।