सप्तरीमा सिँचाइका लागि गाडिएका २३ वटा ट्युबवेल प्रयोगविहीन

सप्तरी । सप्तरीमा सिँचाइ सुविधाका लागि केही वर्षअघि गाडिएका ४३ मध्ये २३ वटा डिप ट्युबवेल प्रयोगमा आउन सकेका छैनन् । ४३ मध्ये १७ वटा मात्र अहिले सञ्चालनमा रहेको र २३ वटा डिप ट्युबवेल अझै सञ्चालनमा आउन नसकेको अवस्था छ ।

सप्तरी र सिरहामा भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिरहाले मुख्य रुपमा डिप बोरिङ जडान गर्ने गरेको छ । कार्यालयमार्फत अहिलेसम्म सप्तरीमा ४३ वटा डिप बोरिङ जडान भएको तर तीमध्ये १७ वटा मात्र सञ्चालनमा रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

केहीमा ट्रान्सफर्मर चोरी भएको छ, कुनैबाट वालुवा आउने गरेकोले पुनः जडान गर्नुपर्ने अवस्था रहेको कार्यलयका प्रमुख विकास ठाकुर बताउनुहुन्छ । अहिले मधेश प्रदेशमा पर्याप्त वर्षा नहुँदा सुक्खा छ । सुक्खाग्रस्त अवस्थामा यसअघि गाडिएका डिप बोरिङ सञ्चालन हुन नसक्दा लगानी खेर गएको छ । साथै प्रयोगविहीन हुँदा खडेरीले मर्कामा परेका किसानलाई राहत हुन नसकेको स्थानिय किसान महेन्द्र यादवले बताउनुभयो ।

ट्युबवेल सम्बन्धिका जानकार बद्री यादवका अनुसार ट्युबवेल गाडिएको केही महिनाभित्र सञ्चालनमा ल्याइसक्नुपर्छ । नभए फिल्टर जाम भएर पानी नआउने अवस्था हुन सक्छ । राजविराज–१० का सुरेन्द्र यादवले जमिनमुनिको पानी तानेर खेतबारीमा सिचाइँ सुविधा पुर्‍याउने उद्देश्यले गाडिएको ट्यबवेल प्रयोगमा नआउँदै जीर्ण हुने अवस्थामा पुगेको बताउनुभयो ।

अहिले तराई मधेशका गाउँमा सिँचाइ अभावले धान रोपाइँ प्रभावित भएको छ । पालिकाले विद्युत लाइन जडान र अन्य आवश्यक उपकरण जडान गरेर भए पनि ती ट्युबवेल सञ्चालनमा ल्याउनुपर्ने किसानको माग छ ।

स्थानीय किसान रामनारायण सुतियारले सिँचाइ अभावकै कारण यो वर्ष धान रोप्न नपाएको बताउनुभयो । अर्का किसान भागवत साहका अनुसार डिप ट्युबवेल गाड्ने बेला निकै खुशी देखिएका किसान ट्युबवेल सञ्चालनमा नआउँदा निराश छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search