नाइजेरियाको बोर्नो राज्यमा आईएस समूहमा आवद्ध लडाकूबाट आक्रमण :किसान र बालबालिका गरी १५ जनाको ज्यान गयो

नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा आईएस समूहमा आवद्ध लडाकूले किसान र बालबालिकाको हत्या गरेको जिहादी विरोधी समूहका सदस्यले बताएका छन् । जिहादी द्वन्द्वको केन्द्रविन्दु बोर्नो राज्यमा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रान्तका लडाकूले जीप र रिक्सामा चढिरहेका किसान र बालबालिकाको समूहमाथि गोली हानेका उनीहरुको दाबी छ ।

हतियारधारी समूहको आक्रमणबाट कम्तीमा १५ जना किसान र बालबालिकाको ज्यान गएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । स्थानीय आत्मरक्षा समूहका अनुसार, मङ्गुनो शहर नजिक रहेको गुर्नोवा भन्ने ठाउँमा खेतबाट फर्किँदै गरेका किसान र बालबालिका चढेको गाडीमाथि अन्धाधुन्ध आक्रमण भएको थियो ।

इस्लामिक राज्य पश्चिम अफ्रिका प्रान्तसँग आवद्ध लडाकू समूहले उत्तरपूर्वी नाइजेरियामा केही वर्षयता लगातारजसो आक्रमण गर्दै आएको छ । स्थानीय बासिन्दाहरू मङ्गुनोमा अस्थायी शिविरमा बस्न बाध्य छन् । मङ्गुनो शहरमा अहिले हजारौं विस्थापित नागरिक सैन्य सुरक्षामा जीवनयापन गरिरहेका छन् ।

संयुक्त राष्ट्र सङ्घका अनुसार, उत्तरपूर्वी नाइजेरियामा पुनः बढ्दै गएको हिंसा, विदेशी सहायता कटौती र महँगीका कारण १० लाखभन्दा धेरै मानिस भोकमरीको चपेटामा पर्ने जोखिम छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search