काठमाण्डौ । वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधि दक्षिण अफ्रिका च्याम्पियन्सले जितेको छ । गएराति भएको फाइनल खेलमा दक्षिण अफ्रिाकाले पाकिस्तान च्याम्पियन्सलाई नौ विकेटले हरायो । पाकिस्तानले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले एक विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले नटआउट शतक र जीन–पल डुमिनीले अर्धशतक बनाए । डिभिलियसले ६० बलमा एक सय २० रन बनाउँदा डुमिनीले २८ बलमा ५० रन बनाए । पाकिस्तानका सईद अजमलले एक विकेट लिए ।
त्यसअघि इङ्ग्ल्यान्डको बर्मिङ्घममा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९५ रन बनाएको थियो । पाकिस्तानका शर्जिल खानले ७६ र उमर अमीनले ३६ रन बनाए ।
दक्षिण अफ्रिकाका हरडस भिजोन र वेन पार्नेलले दुई तथा डुआन ओलिभियरले एक विकेट लिए । वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्स, दक्षिण अफ्रिका च्याम्पियन्स, अस्ट्रेलिया च्याम्पियन्स र इन्डिया च्याम्पियन्स, घरेलु टोली इङ्ग्ल्यान्ड च्याम्पियन्स र वेस्ट इन्डिज सहभागी थिए ।