प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाँदै

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जानुहुने भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आजराति फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जान लागेको हो ।

प्रधानमन्त्री ओलीले हिजो बेलुका राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी समेत गराउनुभएको छ । भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तुर्कमेनिस्तानको अवाजा सहरमा हुने भूपरिवेष्टित विकासशील देशहरुको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।

यही साउन २० अर्थात् पर्सिदेखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा कम विकसित देशहरुको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । उहाँले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता गर्नुका साथै अन्य कार्यक्रम र भेटवार्ता पनि गर्ने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली साउन २३ गते राति स्वदेश फर्किने कार्यक्रम छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search