वीरगञ्ज भन्सारले राजस्व सङ्कलन लक्ष्यअनुसार गर्न सकेन

पर्सा । खुला सीमाबाट हुने अवैध तस्करी नियन्त्रणमा नआउँदा वीरगञ्जका दुई भन्सार कार्यालयले गत आर्थिक वर्षमा वार्षिक राजस्व लक्ष्य भेट्टाउन सकेनन् । गत वर्ष वीरगञ्ज भन्सार कार्यालयलाई २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो । तर कार्यालयले त्यसको ८० दशमलव ३५ प्रतिशत मात्रै अर्थात् एक खर्ब ७५ अर्ब ९३ करोड रुपैयाँ मात्र सङ्कलन गर्‍यो ।

अघिल्लो वर्षको तुलनामा लक्ष्य घटाइए पनि राजस्व सङ्कलनमा अपेक्षित सुधार देखिएन । त्यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत वर्ष ६० अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएकोमा ४९ अर्ब ८२ करोड रुपैयाँ मात्र उठाउन सक्यो ।

भन्सार प्रमुख दीपक लामिछानेले खुला सीमाबाट हुने चोरी पैठारी र दुवै देशबीचको रोटीबेटी सम्बन्धले नियन्त्रणमा कठिनाइ भएको बताए । वीरगञ्ज भन्सारले सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थ ८० अर्ब ९२ करोड रुपैयाँ र सवारीसाधन/पार्टपुर्जा १९ अर्ब ८२ करोड रुपैयाँबाट सङ्कलन गरेको छ । तर, सुरक्षा निकायले एक वर्षमा मात्र पर्साबाट १ अर्ब रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोदाममा छापा मारेर नियमित रूपमा साप्ताहिक रूपमा सातदेखि १५ लाख रुपैयाँसम्मका सामान जफत गरिरहेका छन् ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले अवैध कारोबारले प्रोत्साहन पाएकाले वैध कारोबार निरुत्साहित भएको बताउनुभयो । स्थानीय प्रशासन, प्रहरी र भन्सारको समन्वय कमजोर हुँदा सीमावर्ती क्षेत्रमा चोरी पैठारी अझै नियन्त्रणमा आउन सकेको छैन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search