काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से ६३ दशमलव ७३ अङ्कले घटेर २ हजार ८ सय ५८ दशमलव ९० विन्दुमा झरेको छ । शेयर बजार लगातार तेस्रो कारोबार दिन दोहोरो अङ्कले घटेको हो । आज सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स र अन्य समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन ट्रेड टावर र शिव श्री हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार १५ अर्ब ९८ करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका ३ करोड २२ लाख कित्ता शेयर १३ अर्ब ७ करोड रुपैयाँ शेयर किनबेच भयो ।