सर्लाहीका पूर्वशिक्षक रामपुकारमाथि गोली प्रहार गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डौ । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ का पूर्वशिक्षक रामपुकार राय यादवमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सर्लाहीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार हिजो बेलुका आफ्नै घरको आँगनमा बसेर छरछिमेकीसँग कुराकानी गरिरहेको अवस्थामा यादवमाथि गोली प्रहार भएको थियो ।

टाउकोमा गोली लागेका यादवको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको थियो । मोटरसाइकलमा आएका व्यक्ति गोली प्रहार गरेलगत्तै भागेका थिए । गोली प्रहार गर्ने व्यक्ति भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत पर्ने बसन्तपुरमा मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका ती व्यक्तिको प्रहरी निगरानीमा जनकपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो । घाइते ती व्यक्तिको प्रहरीले परिचय खुलाएको छैन । घटनामा संलग्न अन्यको खोजी र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search