काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकता बन्दरगाहमा प्राप्त भइसकेको जनाएको छ । त्यो मल नेपालस्थित कर्पोरेशनका गोदाममा ल्याउने काम भइरहेको कर्पोरेशनले जनाएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले हालै चार लाख ४० हजार बोरा युरिया र दश लाख ८३ हजार बोरा डीएपी गरी कुल १५ लाख २३ हजार बोरा रासायनिक मल आयात गरेको थियो । गोदाममा आइरहेको मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेश सरकारबाट पालिकालाई कोटा वितरण भइसकेको जानकारी प्राप्त भएको पनि कर्पोरेशनले जानकारी दिएको छ ।
रासायनिक मलको अभाव भएको किसानको गुनासोपछि मल खरिदको जिम्मेवारी प्राप्त निकायमध्ये एक साल्ट ट्रेडिङले विज्ञप्तीमार्फत पछिल्लो जानकारी सार्वजनिक गरेको हो । विज्ञप्तिमा कर्पोरेशनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरलाई आफ्नो पालिका तथा कर्पोरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटाअनुसारको मल बिक्री वितरण गर्न अनुरोध समेत गरिएको छ ।