अछाम । सुदूरपश्चिममा महिनावारीका बेला छाउगोठमा बस्ने चलन अहिले पनि कायमै छ । अछामको पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीको आलीटोलमा महिला तथा किशोरी महिनावारी (छाउपडी) भएको बेला गोठमा बस्छन् ।
जिल्लामा अभियान सञ्चालन गरेर ढुङ्गा माटोले बनाइएका छाउगोठ भत्काइए पनि घरबाट केहीपर जस्तापाताका गोठ बनेका छन् । पछिल्लो अनुगमनकाक्रममा आलीटोलका हरेकजसो घरमा जस्तापाताले बनाइएको छाउगोठ निर्माण भएका भेटिएको हो । महिनावारी हुँदा घरमा बसे देवीदेउता रिसाउँछन् भन्ने विश्वास अझै हट्न सकेको छैन ।
पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेले आलीटोलका बासिन्दालाई भेला गराएर तत्काल छाउगोठ भत्काउन अनुरोध गर्नुभएको छ । छाउगोठ नभत्काए पालिकाबाट पाउने सेवासुविधामा रोक लगाउने समेत उहाँले बताउनुभएको छ ।
हिजो बिहान पञ्चदेवल विनायक–८ चुरखोली टोलमा ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की ३६ वर्षीया रत्ना भण्डारीकी सात वर्षीया छोरी कविता भण्डारीको घर नजिकै त्रिपाल टाँगी बनाइएको छाउगोठमा सुतिरहेको अवस्थामा भिरबाट खसेको ढुङ्गा लागेर ज्यान गएको थियो । महिनावारी भएर सुतिरहेकी रत्ना घाइते हुनुहुन्छ । उहाँ आफ्नो माइती घर बारला जानुभएको थियो । अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले तत्काल जनप्रतिनिधिको समन्वय र प्रहरीको सहयोगमा छाउगोठ भत्काइने बताउनुभएको छ ।