नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

काठमाण्डौ । भाषा आयोगले गाडीमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट)नेपाली भाषामा हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको जनाउँदै भाषा आयोगले गाडीको नम्बर प्लेट अङ्ग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको हो ।

संविधानले नचिनेको भाषा र लिपीमा नभइ नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ । सर्वोच्च अदालतले २०८१ साल असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को उपधारा ३ ले भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ भनी उल्लेख गरेको आयोगले जनाएको छ ।

भाषा आयोगले आफ्नो संवैधानिक दायित्व समेत बोध गर्दै देवनागरी लिपीमा विद्युतीय सङ्केत सङ्ख्या राख्न आयोगको पछिल्लो निर्णयानुसार नेपाल सरकारको पुनः ध्यानाकर्षण गराएको आयोगका अध्यक्ष डा। गोपाल ठाकुरले जानकारी दिनुभयो । सरकारले इम्बोस्ड नम्बर प्लेटलाई अनिवार्य बनाउने गरी अघि बढेको अवस्थामा पहिलाजस्तै नम्बर प्लेटमा उल्लेख गरिएको लिपि, जडान लागतलगायतमा प्रश्न उठिरहेको छ ।

हालै सरकारले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि नहट्ने तर असोज १ गतेदेखि जडान नगरेको खण्डमा तत्कालै कारबाही भने नगरिने सूचनामार्फत जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search