काठमाण्डौ । पर्साको वीरगञ्जमा फैलिएको हैजा र झाडापखालाको सङ्क्रमण केही कम हुन थालेको छ । अस्पताल भएका बिरामी निको भएर घर फर्कने सङ्ख्या बढेको छ । स्वास्थ्य कार्यालय पर्साको पछिल्लो तथ्याङ्कअनुसार नौ सय ६५ जना झाडापखालाका बिरामी अस्पतालमा भर्ना भएकामा आठ सय ६५ जना उपचारपछि घर फर्किसकेका छन् । एक सय जना अहिले पनि उपचाररत छन् । त्यस्तै एक सय ९४ जनामा हैजा पुष्टि भएकोमा एक सय ८२ जना घर फर्किसकेका छन् । अरू १२ जनाको उपचार भइरहेको छ ।
गएको साउन २८ गतेदेखि झाडापखालाका बिरामी देखा परेकोमा केहीमा हैजा समेत पुष्टि भएको थियो । त्यसपछि बिरामी थपिँदै गएकोमा अहिले केही कम भएको छ । विशेषगरी वीरगञ्ज र पोखरियामा हैजाको सङ्क्रमण छ । प्रभावित क्षेत्रमा सङ्क्रमण थप फैलिन नदिन जनचेतना र सरसफाइका काम भइरहेको वीरगञ्ज महानगरले जनाएको छ ।