काठमाण्डौ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६४ अङ्कले घटेर २ हजार ७ सय २६ दशमलव ३३ विन्दुमा झरेको छ । हिजो नेप्से १९ अङ्कले घटेको थियो ।
आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज २ सय १३ वटा कम्पनीको शेयर घटेकोमा ३९ वटाको बढेको छ । आज लिबर्टी इनर्जी कम्पनीको शेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन हिम स्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकममा सामान्य सुधार भएको छ । हिजो ४ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३ सय २६ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ४ अर्ब ७२ करोड रुपैयाँमा किनबेच भएको छ ।