पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषयलाई अनावश्यक ढङ्गले उचालियो : एमाले अध्यक्ष ओली

काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढङ्गले उचालिएको टिप्पणी गर्नुभएको छ ।

ललितपुरको गोदावरीमा आजदेखि शुरू भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भण्डारीको सदस्यता यो महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल हुनै नसक्ने बताउनुभयो । उहाँले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषयमा कमिटीगत छलफलको विषय भएकाले त्यही अनुसार छलफल हुने बताउनुभयो ।

पार्टीमा कतिपय कुराहरू अनावश्यक ढङ्गले अघि बढाउन खोजिएको भन्दै अध्यक्ष ओलीले त्यसलाई विधान महाधिवेशनको छलफलको विषय भन्न नसकिने उल्लेख गर्नुभयो । विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमा मात्रै छलफल केन्द्रित हुने पनि उहाँको भनाइ छ ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेश गर्नुहुनेछ ।

महाधिवेशनमा २ हजार २६ प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ गरी कुल २ हजार ३ सय ४१ जनाको सहभागिता रहेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ । सहभागीको स्वागतमा एमाले कार्यकर्ताले साँस्कृतिक झाँकीसमेत प्रस्तुत गरेका थिए । गोदावरीको सनराइज हलमा आयोजना गरिएको एमाले विधान महाधिवेशन ३ दिनसम्म चल्नेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search