काठमाण्डौ । काठमाण्डौको नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । यात्रुलाई जबरजस्ती ट्याक्सीबाट निकाली आफ्नो चिनेको गाडीमा चढ्न बाध्य पार्ने, बाटो हिँडिरहेका यात्रुलाई हैरानी दिई सामान तथा झोलाहरू जबरजस्ती तान्ने ३३ जना पक्राउ परेका हुन् ।
उनीहरूले आफूले भनेको गाडीमा चढ्न नमानेमा विभिन्न किसिमको अश्लील शब्दहरू प्रयोग गरी दुःख हैरानी दिने गरेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुरका १०, उदयपुरका ६, बाराका ५, सर्लाहीका ३, काभ्रे र दोलखाका २/२ तथा रामेछाप, ओखलढुङ्गा, चितवन, तनहुँ र सप्तरीका १/१ जना रहेका छन् । उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको परिसरका प्रहरी उपरीक्षक एवम् प्रवक्ता अपीलराज बोहराले बताउनुभयो ।