काठमाण्डौ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका राम्रा काम नागरिकसम्म पुर्याउन र नराम्रा कामको आलोचना गर्न आग्रह गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन) को २७औं वार्षिक साधारण सभालाई आज काठमाण्डौमा सम्बोधन गर्दै उहाँले बर्तमान सरकारले आलोचना पनि सुन्ने ल्याकत राख्ने दाबी गर्नुभयो । सरकारका कमजोरी औँल्याउने र सकारात्मक कामलाई प्रभावकारी रूपमा नागरिकमाझ पुर्याउने दायित्व सञ्चारक्षेत्रको भएको उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारी, रुस–युक्रेन तनावलगायत कारण देशको अर्थतन्त्रमा असर देखिएको तर पछिल्लो समय सुधार हुँदै गएको बताउनुभयो ।
यस्तै नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्र सुधारका लागि कुन क्षेत्रमा कति लगानी आवश्यक छ र त्यसका लागि के कस्ता नीतिगत तथा कानुनी सुधार गरिनुपर्छ भनेर परिसङ्घले अध्ययन गरिरहेको बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्र सूचकहरू विस्तारै सुधार हुँदै गए पनि निजी क्षेत्र अझै लगानीको लागि तयार भइनसकेको बताउनुभयो । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई दिएका सुझाव तथा सिफारिस कार्यान्वयनमा उहाँले जोड दिनुभयो ।