आज १७औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस : गिद्धबारेका गलत धारणामा सुधार हुँदै

काठमाण्डौ । आज १७औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदैछ । गिद्धको महत्त्वबारे जनचेतना अभिवृद्धि गरी यसको संरक्षणको पहलका लागि विश्वभर गिद्ध सचेतना सप्ताह मनाउने गरिन्छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार मनाइने अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसमा गएको सोमबारदेखि सप्ताहव्यापी कार्यक्रम शुरू गरिएको थियो ।

गिद्ध सिनो खाएर प्रकृति सफा राख्ने चरा हो । यसलाई प्रकृतिको कुचिकार भनिन्छ । अन्य मांसाहारी जीवले मरेका जनावरको ३६ प्रतिशत मात्र मासु र कङ्काल खान्छन् । तर, गिद्धले सबैजसो सडेगलेका मासु र कङ्काल खाएर वातावरणलाई प्रदूषणमुक्त गर्न मद्दत गर्ने, महामारी फैलाउन सहयोग गर्ने जङ्गली कुकुर र स्याललाई सिनोसम्म पुग्न रोक्ने नेपाल पन्छी संरक्षण सङ्घ अन्तर्गत गिद्ध संरक्षण कार्यक्रमका प्रबन्धक अंकित बिलास जोशी बताउनुहुन्छ ।

पछिल्लो समय गिद्धप्रतिको नकारात्मक धारणामा सुधार हुँदै गएको र यसको संरक्षणमा नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उहाँको भनाइ छ । नेपालमा ४० वर्षअघि अर्थात् सन् १९८० को दशकमा पाँचदेखि १० लाखको सङ्ख्यामा गिद्ध रहेकोमा सन् २००५ देखि २०११ सम्मको तथ्याङ्कले गिद्धको सङ्ख्या ९० प्रतिशतभन्दा पनि धेरैले घटेको थियो । नेपालमा पाइने नौ प्रजातीमध्ये कुनै प्रजाति त अति सङ्कटापन्न अवस्थामा पुगे ।

सन् १९९० को दशकमा गिद्ध समस्यामा पर्नुमा पशुचौपायलाई खुवाउने डाइक्लोफेनाक औषधि देखिएपछि सरकारले १९ वर्ष अघि सन् २००६ मा त्यो औषधिमाथि प्रतिबन्ध लगायो । औषधि र विषादीसँगै प्राकृतिक वासस्थानमा क्षती, आहारमा कमी र मानवनिर्मित विद्युतीय तारबारलगायत गिद्ध संरक्षणका लागि चुनौती हुन् । पछिल्लो पटक गिद्ध संरक्षणका कार्यक्रम सफल हुँदा नेपालमा गिद्धको संख्या २० हजार हाराहारीमा पुगेको अनुमान छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search