लाल सागरको समुद्रमुनि बिछ्याइएका इन्टरनेटको तार काटिँदा माइक्रोसफ्टको एजर क्लाउड सेवा (कम्प्यूटरको क्षमता र इन्टरनेटमा डाटा राख्ने प्रविधि)मा समस्या देखिएको छ । विश्वकै मुख्य क्लाउड कम्प्युटिङ प्लेटफर्ममध्ये एजर इन्टरनेट सेवा प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ । इन्टरनेटलाई वैकल्पिक मार्गबाट लगेर केही हदसम्म समस्या समाधान गरिएको कम्पनीको दाबी छ ।
गएको हप्ता सार्वजनिक भएका विभिन्न प्रतिवेदनअनुसार लाल सागरमा तार काटिँदा संयुक्त अरब इमिरेट्ससहित एशियाका केही देश प्रभावित भएका थिए । समुद्रमुनी बिच्छ्याइएका तारहरुलाई इन्टरनेटको मेरुदण्ड भनिन्छ, जसले महादेशहरूबीचको सञ्चार र डाटा आदानप्रदान गर्छ ।
इन्टरनेट पहुँचको निगरानी गर्ने संस्था नेटब्लक्सले लाल सागरमा भएका तार काटिंदा भारत र पाकिस्तानसहितका देश प्रभावित भएको जनाएको छ । यसअघि सन् २०२४ को फेब्रुअरीमा समेत लालसागरमा सञ्चार केबल काटिँदा एशिया–युरोपबीचको इन्टरनेट सेवा प्रभावित भएको थियो ।