फ्रान्समा फेरि नयाँ राजनीतिक सङ्कट, प्रधानमन्त्री फ्राँस्वा बायरोको सरकार ढल्यो

फ्रान्स फेरि नयाँ राजनीतिक सङ्कटमा फसेको छ । नेशनल एसेम्ब्लीमा प्रधानमन्त्री फ्राँस्वा बायरोले विश्वासको मत गुमाएपछि उहाँको सरकार ढलेको बीबीसीले जनाएको छ । हिजो तीन सय ६४ सांसदले विपक्षमा र एक सय ९४ सांसदले मात्रै समर्थनमा मतदान गरेपछि बायरोले आज राष्ट्रपति इमानुएल म्याक्रोनलाई पदबाट राजीनामा बुझाउन लाग्नुभएको खबरमा उल्लेख छ । राष्ट्रपति म्याक्रोनले अब नयाँ प्रधानमन्त्री नियुक्त गर्ने, वामपन्थीसँग सहकार्य गर्ने वा संसद विघटन गरी नयाँ निर्वाचन घोषणा गर्ने विकल्पमध्ये एक छान्नुपर्नेछ । तर वामपन्थी दल ‘फ्रान्स अन्बाउड’ ले राष्ट्रपतिकै राजीनामा माग गरेको छ । दुई वर्षमै पाचौँ प्रधानमन्त्री पाउन लागेको फ्रान्समा यो अस्थिरता म्याक्रोँको दोस्रो कार्यकालमा बढ्दो असन्तुष्टि र राजनीतिक गतिरोधको सङ्केत भएको विश्लेषण भइरहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search