अमेरिकी अन्तरिक्ष निकाय नासाले चिनियाँ नागरिकहरुलाई आफ्ना अन्तरिक्ष कार्यक्रमहरूमा काम गर्न प्रतिबन्ध लगाएको छ । बीबीसीका अनुसार नासाले अमेरिकाको वैधानिक भिसा भएका चिनियाँ नागरिकहरूमाथि पनि प्रतिबन्ध लगाएसँगै अब कुनै पनि चिनियाँ बैज्ञानिकले नासाका अन्तरिक्ष कार्यक्रममा काम गर्न पाउने छैनन् ।
नासामा करार वा अनुसन्धानमा सहयोग गर्ने विद्यार्थीका रूपमा काम गर्ने चिनियाँ नागरिकहरूले सेप्टेम्बर ५ तारिख अर्थात् भदौ २० गते नै नासाको प्रणाली र सुविधाहरूमा सबै पहुँच गुमाएका थिए । अहिले नासाले औपचारिक रुपमा रोक्ने जानकारी गराएको हो ।
चीनले आफ्ना अन्तरिक्ष कार्यक्रमलाई द्रूत गतिमा बढाएका कारण अन्तरिक्षमा अमेरिका र चीनबीच प्रतिस्पर्धा बढेको छ । चीन र अमेरिका दुवैले चन्द्रमामा आफ्ना अन्तरिक्षयात्रीहरू पठाउन प्रतिस्पर्धा गरिरहेका छन् ।
यो दौड केवल चन्द्रमामा पुग्ने बारेमा मात्र नभई त्यहाँ पुगेपछि स्रोतहरू कसले नियन्त्रण गर्न सक्दछ भन्ने पनि हो । चन्द्रमामा खनिज पदार्थलगायत फलाम र टाइटेनिअमजस्ता दुर्लभ धातुहरू र हीलिअम पनि छन्, जुन सुपरकन्डक्टरदेखि चिकित्सा उपकरणसम्म धेरै कुरामा प्रयोग गरिन्छ ।
चिनियाँ अन्तरिक्ष यात्रीहरुलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा भने यसअघि नै रोक लगाइएको छ । अमेरिकामा पछिल्लो समय चिनियाँ नागरिकहरूद्वारा जासुसीका धेरै घटनाहरू भएका छन् ।