समुद्री सतह बढ्दा सन् २०५० सम्ममा १५ लाख अस्ट्रेलियाली जोखिममा पर्ने : प्रतिवेदन

समुद्री सतह बढ्दै जाँदा सन् २०५० सम्ममा अस्ट्रेलियाको तटीय क्षेत्रमा बसोबास गर्ने झन्डै १५ लाख मानिस जोखिममा पर्ने एक जलवायु प्रतिवेदनले चेतावनी दिएको छ । अस्ट्रेलियाको पहिलो राष्ट्रिय जलवायु जोखिम मूल्याङ्कनले आउँदा वर्षहरूमा बाढी, चक्रवात, गर्मीको लहर, खडेरी र डढेलोजस्ता जलवायुसँग सम्बन्धित प्रकोपहरू बारम्बार र गम्भीर हुने अनुमान गरेको बीबीसीले जनाएको छ ।

अस्ट्रेलियालीहरूले पहिले नै जलवायु परिवर्तनको प्रभाव महसूस गरिरहेका जलवायु परिवर्तन मन्त्री क्रिस बोवेनले बताउनुभएको छ । तर तापक्रम वृद्धि रोक्न सकेमा भावी पुस्ताका लागि सङ्कट कम हुने उहाँले बताउनुभयो ।

अस्ट्रेलिया पहिले नै विश्वव्यापी तापक्रम वृद्धिको हिसाबले १ दशमलव ५ डिग्रीभन्दा माथि पुगिसकेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार यदि तापक्रम ३ डिग्रीसम्म बढ्यो भने सिड्नीमा गर्मीको लहरबाट हुने मृत्यु ४ सय प्रतिशतले बढ्न सक्ने र मेलबर्नमा यो झन्डै ३ गुणा बढ्न सक्छ ।

प्रतिवेदनले अस्ट्रेलियाको कुनै पनि समुदाय जलवायु परिवर्तनको जोखिमबाट अछुतो नहुने पनि बताएको छ । प्रतिवेदनले गर्मीको लहरले मृत्युदर बढाउने, बाढी र आगलागीले पानीको गुणस्तर बिगार्ने र सम्पत्तिको मूल्य घट्न सक्ने चेतावनी दिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search