काठमाण्डौ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । आज दिउँसो सिंहदरबारमा रहेको मन्त्रालयमा पुगेर उहाँले पदभार सम्हाल्नुभएको हो ।
पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गर्नुभएको छ । घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गर्नुभएको थियो । तर तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो ।
विगत एक दशकयता सधैँ चर्चाको शिखरमा रहनुभएका कुलमान घिसिङले ऊर्जामन्त्रीको जिम्मेवारी पाउनुभएको छ । झन्डै आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाल ’लोडशेडिङमुक्त’ भएको घोषणा गरिएको थियो ।
अघिल्लो सरकारसँग टकराव
२०७८ सालको साउनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा घिसिङ दोस्रो पटक प्राधिकरण प्रमुखमा नियुक्त हुनुभयो । तत्कालीन ओली सरकार र उहाँबीच टकराव देखियो । ऊर्जा, जलस्रोत एवम् सिँचाइमन्त्री दीपक खड्का र उहाँबीचको कहिल्यै कुरै मिलेन । खासगरी उद्योगहरूले डेडिकेटेड र ट्रङ्कलाइनको महसूल नतिरेका कारण प्राधिकरणले बिजुली काट्ने र त्यसो गर्न नदिने मन्त्री–प्रधानमन्त्रीको जोडबलसँग विवाद भएको थियो । महसूलको विषयमा विवाद चर्किँदै गर्दा उद्योगीहरूको लाइन काट्ने घिसिङको कदमसँग तत्कालीन केपी ओली नेतृत्वको सरकार असन्तुष्ट बनेको थियो र उहाँलाई सरकारले ६ महिनाअघि पदबाट हटाएको थियो ।