वर्षा र पहिरोले ९ ठाउँका सडक अझै अवरुद्ध

काठमाण्डौ । अविरल वर्षा र पहिरोका कारण विभिन्न नौ ठाउँका सडक अझै अवरुद्ध छन् । नेपाल प्रहरीका अनुसार कोशी, मेची, बीपी, पासाङ ल्हामु र कर्णाली करिडोर लगायतका सडक अझै खुल्न नसकेको हो ।

कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोलामा जेठ ६ गतेदेखि नै सडक पूर्णरूपमा अवरुद्ध छ । यही राजमार्गकै मकालु गाउँपालिका–३ एकुवामा पनि महिना दिनदेखि पहिरोका कारण सडक बन्द रहेको प्रहरीले जनाएको छ ।

यस्तै, मेची राजमार्ग अन्तर्गत इलामको इलाम नगरपालिका–९ राजदुवाली लगायतका ठाउँमा वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । पाँचथरको तुम्वेबा गाउँपालिका–२ नावाखोलामा पनि अविरल वर्षाले सडक अबरुद्ध छ । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ मा तीन ठाउँमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

त्यसैगरी, बीपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुलीका विभिन्न ठाउँमा सडक पूर्ण रूपमा बन्द छ । काभ्रेको रोशी गाउँपालिका–११ माम्तीखोला लगायत तीन ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको छ भने सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकमा पनि सडक बन्द छ ।

पश्चिममा कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका–५ करिल्ला र कालिकोटको पचालझरना गाउँपालिका–८ जुगेनी खोलामा पनि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण सडक बन्द हुँदा गाडी आवतजावतमा समस्या भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search