काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव सङ्गीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मिश्रासहित १४ जनाविरुद्ध १४ करोड रुपैयाँभन्दा धेरै बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनीहरूमाथि स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोप छ ।
प्रदीप पौडेल स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य सचिवको आकाङ्क्षी रहेकी मिश्रालाई सचिव नबनाएर डा. विकास देवकोटालाई बनाउनुभएको थियो । त्यसपछि लामो समय बिदामा बसेकी मिश्रा जेनजी आन्दोलनबाट सरकार फेरिएपछि कार्यालयमा हाजिर भएकी थिइन् । लगत्तै स्वास्थ्यमन्त्रीको चर्चा चलेपछि मिश्राले अतिरिक्त सचिवबाट राजीनामा दिए पनि अख्तियारले भ्रष्टाचार मुद्दा अघि बढाउन लागेको थाहा पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्ने नामको सूचीबाट हटाउनुभएको थियो ।
मिश्रा कोशी अस्पताल र प्रसूति अस्पताल थापाथलीको प्रमुख तथा स्वास्थ्य सेवा विभागको महानिर्देशक बनेकी थिइन् । उनी विभागको महानिर्देशक रहेका बेला स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको आरोपमा अनुसन्धानमा तानिएकी हुन् ।