काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणले पर्याप्त बिजुली रहेको भन्दै ढुक्क भएर बत्ती बाली तिहार मनाउन सकिने बताएको छ । तिहारमा घरघरमा झिलिमिली पारिने भएकोले माग अनुसार बिजुली उपलब्ध हुने/नहुने कुरा उपभोक्ताको चासो रहन्छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार पर्याप्त बिजुली र व्यवस्थापकीय तयारी रहेकोले तिहारमा विद्युत् आपूर्तिमा समस्या हुँदैन ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले देशका विद्युत् आयोजनाको कुल जडित क्षमता ४ हजार मेगावाट पुगेको छ । त्यसमा केही आयोजना मर्मतका क्रममा रहेकोले दैनिक २७ सयदेखि २८ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
गएको वर्ष तिहारको लक्ष्मीपूजामा अधिकतम माग १६ सय मेगावाटसम्म पुगेको थियो । यस वर्ष १७ सय मेगावाटसम्म पुग्ने प्राधिकरणको अनुमान छ । त्यस अनुसार लक्ष्मीपूजामा देशभर झिलिमिली बनाएर पनि झन्डै १ हजार मेगावाट विद्युत् भारततर्फ निर्यात गर्न सकिने अवस्था रहेको प्रवक्ता ढकालले बताउनुभयो ।
तिहारका बेला उद्योगहरू बन्द हुने भएकोले २ सयदेखि ३ सय मेगावाट विद्युत् बचत हुन सक्छ । त्यो विद्युत् पनि उपभोक्तामा पठाइने भएकोले तिहारमा पनि विद्युत् खेर जाने सम्भावना रहने प्राधिकरणको भनाइ छ ।
यस्तै प्राधिकरणले विद्युत् आपूर्तिमा कुनै पनि किसिमको प्राविधिक गडबडी आउन नदिन कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रवक्ता ढकालले बताउनुभयो ।