टर्कीएको उत्तर–पश्चिमी बोलु पहाडको एक होटलमा भएको आगलागीका लागि दोषी ठहर गर्दै त्यहाँको अदालतले ११ जनालाई जन्मकैदको फैसला गरेको छ । गएको जनवरी २१ तारिखमा भएको आगलागीमा सुरक्षा नियम पालना गर्न कमजोरी भएको ठहर गरी अदालतले हिजो होटलका मालिकसहित ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको हो ।
आगलागीबाट ३० बालबालिकासहित ७८ जनाको ज्यान गएको थियो । एक सय ३७ जना घाइते भएका थिए । बोलुका एक उपमेयर र स्थानीय अग्नि नियन्त्रकलाई पनि जेल सजाय सुनाइएको समाचार संस्था एएफपीले जनाएको छ । आगलागीलगत्तै ३२ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो ।
अनुसन्धानका क्रममा होटलमा जडान गरिएको आगलागीको चेतावनी दिने संयन्त्रले काम नगरेको र केही ग्याँस उपकरणले सुरक्षा मापदण्ड पूरा नगरेको पुष्टि भएको छ । अदालतको फैसलालाई पीडितका परिवारले स्वागत गरेका छन् ।











