बेलैमा धान भित्र्याउन नपाउँदा किसान समस्यामा : तोरी, दलहन र आलुबालीमा पनि असर

काठमाण्डौ । असारमा रोप्ने बेला पानी नपरेर समस्यामा परेका किसानले अहिले कात्तिकमा पानी पर्दा धान भित्र्याउन पाएका छैनन् । धानको बोटमै बाला टुसाउन थालेको किसानको गुनासो छ । पाँजा खेतमै भिजेको छ । आफ्नो ६ महिनाको मेहनत खेर जाने चिन्ताले किसानलाई सताइरहेको छ । कतिपयले काटेर राखेको धानलाई चुटेर भित्र्याउन सकेका छैनन् ।

सिरहाको गोलबजार–९ का किसान रामपुकार कामतीले शुरूमा खडेरीले रोपाइँमा समस्या पारेको र अहिले भित्र्याउने बेलाको झरीले धानबाली नष्ट गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । तराई/मधेशमा साउन तेस्रो हप्तासम्म पनि पानी नपर्दा किसानलाई धान रोप्न मुश्किल परेको थियो । कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार पानीसँगै हावा पनि चलेकाले धान ढलेको र बाला कुहिएर उत्पादन समेत घट्ने अनुमान गरिएको बताउनुभयो ।

पाक्दै गरेको र काटिनसकेको धानलाई खासै समस्या नभएपनि काटेर राखेको धानलाई अब मौसम खुलेपछि घाममा सुकाएर भित्र्याउन धानबाली विज्ञको सल्लाह छ । सकेसम्म छिटो खेतमा पानीको निकासका लागि व्यवस्था गर्न नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले आग्रह गरेको छ । अहिले परेको पानीले धानमात्रै होइन, तोरी, दलहनबाली र आलुलगायतका बालीमा पनि असर पुर्‍याएको छ ।

कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख डा. रविन्द्रनाथ चौबेका अनुसार जिल्लामा अहिलेसम्म ६० देखि ७० प्रतिशतमात्र किसानले बाली भित्र्याएका छन् । बाँकी केही किसानले धान काटेर खेतमा राखेका र केहीले नकाटेको अवस्थामा छ । धान काटेर तोरी, दलहनबाली र आलु लगाउने समय भएकाले यो वर्षाले असर पारेको उहाँको भनाइ छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search