काठमाण्डौ । बीपी राजमार्ग अन्तर्गत काभ्रे खण्डको विभिन्न ठाउँमा पहिरो र लेदोले अवरुद्ध सडक अझै खुलेको छैन । पानी परेपछि हिजो बिहानदेखि बीपी राजमार्गको काभ्रेमा विभिन्न ठाउँमा पहिरो खसेको थियो भने लेदो पनि बगेको थियो ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार चौकीडाँडा, चारसयबेंसी, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, बिरुवाडाँडा, डालाबेशीलगायतको ठाउँमा लेदोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको आग्रह छ ।
यस्तै म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा पालिकालाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत (घुुमाउने) मा खसेको पहिरोका कारण मङ्गला, मालिका र धौलागिरि गाउँपालिका अस्ति बिहीबारदेखि सदरमुकाम बेनी बजारसँग सीधा यातायात सम्पर्कविच्छेद भएको हो ।
यातायात ब्यवसायी यज्ञबहादुर थापाले सडकमा पहिरो थुप्रिनुका साथै माथिबाट निरन्तर पहिरो खसिरहने भएकाले दुर्घटनाको जोखिम रहेको बताउनुभयो । बेनी–दरवाङ सडक स्तरोन्नतिको योजना कार्यान्वयन गरिरहेको पूर्वाधार विकास कार्यालय, म्याग्दीले आज बिहानदेखि वर्षा रोकिएको र अब पहिरो पन्छाउन पहल गरिने जनाएको छ ।











