केन्याको उत्तरी सुक्खा भूमिमा गएको अप्रिल यता पानी परेको छैन । त्यहाँ खडेरीको समस्या बढ्दै गएको छ । स्थानिय बासिन्दाले वर्षाको प्रतीक्षा र प्रार्थना गरिरहेका छन् । जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उत्तरी केन्याका बासिन्दालाई खडेरीले दिनदैनिकी तथा जिविकोपार्जनमा समस्या थपेको समाचार संस्था एएफपीले जनाएको छ ।
पछिल्ला वर्ष सुक्खा/खडेरी बढ्न थालेपछि अर्ध–घुमन्ते सम्बुरु समुदायले गाईको सट्टा उँट पाल्न थालेका छन् । उँटहरू सुक्खा घाँसमा पनि बाँच्न सक्ने, एक हप्ता भन्दा धेरै समयसम्म पानी बिना रहन सक्ने र गाईको तुलनामा ६ गुणा बढी दूध दिने हुन्छ । त्यसैले स्थानिय बासिन्दाले उँटलाई जीवनको नयाँ आधार बनाउन थालेका हुन् ।
सन् २०१५ मा खडेरीकै कारण केन्याको सुक्खा र अर्ध–सुक्खा क्षेत्रका झन्डै ७० प्रतिशत गाई मरेपछि सम्बुरु काउन्टीले उँट पालन कार्यक्रम शुरू गरेको थियो । यद्यपि उँटपालनमा पनि रोगलगायतको जोखिम छ ।











