काठमाण्डाै । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा नेपालले अमेरिकालाई दुई सय ७२ रनको लक्ष्य दिएको छ । दुबईमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ७१ रन बनायो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ७५ रन बनाए । यस्तै करन केसीले ४९, कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३ र कप्तान रोहितकुमार पौडेलले ३६ रन बनाए । अमेरिकाका हरमित सिंहले तीन, नोस्टुस केन्जिगे र सौरभ नेत्रवलकरले समान दुई, जसदीप सिंह र शुभम रञ्जनेले समान एक विकेट लिए । अमेरिकाले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।
यूएईमा नेपाल, घरेलु टोली र अमेरिकाबीच लिग–२ अन्तर्गतको श्रृंखला चलिरहेको छ । यो शृङ्खलाको पहिलो खेलमा गएको आइतवार नेपाल अमेरिकासँग एक सय छ रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यस्तै अस्ति बिहीवार घरेलु टोली यूएईसँग भएको खेलमा पनि नेपाल पाँच विकेटले पराजित भयो ।
नेपालले यूएईमा भइरहेको श्रृंखलाको अन्तिम खेल आउँदो बुधवार घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि टोली स्वदेश फर्कनेछ । लिग–२ मा १८ खेल खेल्दा १२ अङ्क मात्र जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ । शीर्ष स्थानमा रहेको अमेरिकाको २२ खेलमा ३२ अङ्क छ भने यूएई १८ खेलमा आठ अङ्कसहित पुछारमा छ ।











