अत्यावश्यक परेमा मात्रै राहदानीको लागि आवेदन दिन विभागको आग्रह

काठमाण्डौ । राहदानी विभागले अत्यावश्यक सेवाग्राहीहरूलाई मात्रै राहदानीका लागि आवेदन दिन आग्रह गरेको छ । राहदानी पुस्तिकाको सीमित संख्या र सेवाग्राहीको उच्च माग लगायतका कारणले राहदानी वितरणमा केही समस्या रहेको विभागको भनाइ छ ।

सेवाग्राहीको उच्च माग व्यवस्थापन गर्न बायोमेट्रिक (फोटो खिच्ने, औँठाछाप दिने आदि) प्रक्रियाका लागि दैनिक एक हजार स्लट (सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक) मात्रै खुलाउने निर्णय भएको छ । आजदेखि बेलुकी ५ बजे ती स्लटहरू अनलाइन प्रणालीमार्फत खुल्ने विभागले विज्ञप्ति निकालेर जनाएको छ । विभागका अनुसार सामान्य अवस्थामा दैनिक करिब तीन हजार पासपोर्ट वितरण हुने गरेको छ ।

विभागले राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन आग्रह पनि गरेको छ । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गएको साउनमा खरिद सम्झौता गरिसकेको र सम्झौताअनुसार आउँदो फागुन ११ देखि राहदानी सेवा शुरू हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search