काठमाण्डौ । डिभिजन वन कार्यालय भोजपुरका प्रमुख दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदलात काठमाण्डौमा मुद्दा दायर गरेको हो ।
श्रेष्ठले पदमा रहेका बेला आर्जन गरेको सम्पत्तीमध्ये एक करोड ४३ लाख १८ हजार नौ सय ३७ रुपैयाँको स्रोत नखुलेका कारण त्यसलाई विगो मानी मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
अख्तियारले बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति र यसबाट बढेबढाइएको चलअचल सम्पत्ति जफतको मागदाबी गरेको छ । श्रेष्ठविरुद्ध डिभिजन वन कार्यालय इलाममा कार्यरत रहेको बेला उजुरी परेको थियो ।
अख्तियारले उजुरीमाथी छानविनका क्रममा श्रेष्ठ सरकारी सेवा प्रवेश गरेको मिति २०४८ सालको असार २६ गतेदेखि २०८० सालसम्म ३२ वर्षको सम्पत्ति अध्ययन गरेको जनाएको छ । श्रेष्ठले सेवा अवधिमा दुई करोड १६ लाख ८५ हजार रुपैयाँ आर्जन र तीन करोड ६० लाख चार हजार खर्च गरेको देखिएको छ । श्रेष्ठले झुटो विवरण पेश गरी सम्पत्ति विवरण बुझाएकामा पनि थप सजाय मागदाबी गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।











