बाढीपहिरोका कारण पाँचवटा राजमार्ग अझै अवरुद्ध

काठमाण्डौ । बाढीपहिरोका कारण अवरुद्ध बनेका राजमार्ग अन्तर्गत पाँचवटा सडक अझै अवरुद्ध रहेका छन् । नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेका अनुसार वर्षाका कारण अवरुद्ध भएका मध्ये पाँच वटा पूर्णरूपमा अवरुद्ध छन् भने दुई राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् ।

सङ्खुवासभाको भोटखोलामा कोशी राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकामा नेपाल–चीन जोड्ने राजमार्ग, रसुवामा रहेका पासाङ ल्हामु सडक र मुस्ताङमा पर्ने जोमसोम–कोरोला सडकखण्ड अवरुद्ध छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा पर्ने कोशी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

यसैबीच नारायणगढ–मुग्लिन सडकअन्तर्गत दासढुङ्गादेखि मुग्लिनसम्मको खण्ड पहिरोका कारण सधैँ जोखिमपूर्ण हुने गरेको छ । पानी पर्दा लेदोसहितको पहिरो र पानी नपर्दा सुक्खा पहिरो खस्ने गरेको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार धेरैजसो ठाउँमा भाँचिएको ढुङ्गाका पहाड भएकाले दासढुङ्गादेखि मुग्लिनसम्मको भू–बनोट पहिरो जाने प्रकारको छ ।

अघिल्ला वर्षहरूमा मौरीखोला र सेती दोभानखोला क्षेत्रमा बढी समस्या हुने गरेको पनि पछिल्ला वर्षहरूमा तुइनखोला, कालीखोला र नाम्सीखोलामा पहिरोको जोखिम बढी रहेको छ । आचार्यका अनुसार यो वर्ष तुइनखोलामा एक सय ६० मिटर, नाम्सीखोलामा एक सय ५० मिटर र कालीखोलमा ५० मिटर पहिरोको उच्च जोखिमा रहेको छ ।

यो सडक काठमाण्डौ उपत्यका सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाका लागि लाइफलाइनका रूपमा हेर्ने गरिन्छ । सुरुआती चरणमा साढे पाँच मिटर चौडाइमा बनेको सडकलाई डेडिकेटेड डबल लेनमा विस्तार गर्ने काम २०७५ सालमा सकिएको हो । विस्तारपछि पहिरोको जोखिम झनै बढेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search