चैनपुर नगरपालिका स्थानीय भत्ता खोज कार्य दलको आह्वानमा पालिका भित्रका शिक्षक कर्मचारीहरुले स्थानीय भत्ता के कति कारणले पाउन सकेनन् भन्ने विषयमा बृहत भेला सरस्वती मा. वि. चैनपुरको सभाहलमा शुक्रबार सम्पन्न भएको छ। कार्यदलका संयोजक सुर्य बहादुर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा पालिका भरिका शिक्षक नेताहरु, प्रधानाध्यापक एवम् शिक्षक कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
स्थानीय भत्ता नेपाल सरकारबाट २०७१ साल साउन १ गते देखि लागू हुने गरि स्थानीय भत्ता र भत्ता पाउने स्थान तोकिएको हो । यो निर्णयसँगै चैनपुर नगरपालिका ग वर्गको स्थानीय भत्ता पाउने स्थानीय तहमा पर्दछ,भने संखुवासभाको केही स्थानीय तहहरु ख वर्गमा समेत पर्दछन् ।
यस आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम कार्यान्वयन कार्यविधिमा समेत स्पष्ट रुपमा स्थानीय भत्ता शिक्षकहरुले पाउने लेखिएता पनि सम्बन्धित पक्षबाट स्थानीय भत्ता नदिएकोले यस बृहत भेलाबाट स्थानीय भत्ता प्राप्तिको लागि स्थानीय भत्ता पीडित शिक्षक, कर्मचारी संघर्ष समिति चैनपुर नगरपालिका निर्माण भएको छ।
संघर्ष समिति निर्माणसँगै समितिले पहिलो चरणमा स्थानीय भत्ता प्राप्तिको लागि चैनपुर नगरपालिकालाई उपस्थिति र निर्णयको प्रतिलिपी सहित अनुरोध पत्र पेश गर्ने यदि पालिकाबाट सुनुवाइ नभए न्याय प्राप्तिको लागि अदालतको ढोकासम्म ढकढक्याउन जाने निर्णय भएको संघर्ष समितिले जानकारी दिएको छ।











