झापा । दुई वर्ष नेपाल बसेर भारततर्फ फर्कन लागेका झन्डै ३० वटा हात्ती झापाको रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतर्फै फर्किएका छन् । गएको हप्ता मोरङको सुन्दरहरैचा क्षेत्रको जङ्गलबाट पूर्वतर्फ लागेको हात्तीको लस्कर पूर्वी गौडा बाहुनडाँगी हुँदै भारततिर लाग्ने अनुमान् थियो ।
तर बथानबाट ठूलो सङ्ख्या मोरङतिरै फर्किसकेको र केही संख्यामा झापाको जङ्गलतिरै बरालिरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिनुभयो । झापा र मोरङका जङ्गलमा कम्तीमा ३० वटा रैथाने हात्ती छन् । त्यती नै संख्याका हात्ती भारतबाट आएर लामो समय बसेपछि दुई जिल्लामा मानव–हात्ती द्धन्द्ध बढ्ने जोखिम बढेको डिभिजन वन कार्यालय झापाका प्रमुख श्रेष्ठले बताउनुभयो ।
सीमित क्षेत्रफलको जङ्गलमा हात्तीको सङ्ख्या थपिदै जाँदा बास र पर्याप्त आहार हुँदैन । भोकाएर हात्तीको बथान गाउँबस्तीतिर प्रवेश गर्ने हुँदा त्यसको मार जङ्गल छेउका बासिन्दाले व्यहोरिरहेका छन् । भारतको आसामदेखि पश्चिम बङ्गालको सुकुना हुँदै नेपाल भित्रिने बथानका हात्तीले पुस्तौँदेखि निरन्तर ओहोरदोहोर गरिरहेका चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेल बताउनुहुन्छ ।
अहिले झापा र मोरङमा आहारका लागि धान, मकै र केरा पर्याप्त भएकाले हात्तीहरू भारततिर नगएको हुनसक्ने उहाँको भनाइ छ ।











