काठमाण्डाै । नेपालमा गरेको एउटा अध्ययनले नसर्ने रोगका कारण आँखामा हुने समस्याको जोखिम बढेको देखाएको छ ।
तिलगङ्गा आँखा प्रतिष्ठानले झन्डै पाँच हजार जनालाई समेटेर गरेको काठमाण्डाै केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको हो । आज सार्वजनिक प्रतिवेदन अनुसार उच्च रक्तचाप भएका सहभागीहरूमध्ये एक प्रतिशतमा ‘हाइपरटेन्सिभ रेटिनोप्याथी’ थियो भने मधुमेह भएकाहरूमध्ये ७ दशमलव ३ प्रतिशतमा ‘डायबेटिक रेटिनोप्याथी’ पाइएको छ ।
रेटिनोप्याथी भन्नाले आँखाको रेटिनामा देखिने समस्या हो जसले अन्धोपना पनि निम्त्याउन सक्छ । अध्ययनले सन् २०२२ देखि २०२४ सम्म काठमाण्डाै बस्ने ४० वर्षभन्दा माथिका व्यक्तिहरूमा देखिने आँखाका रोग, जोखिम कारक, सेवा सुविधामा रहेको पहुँच, जनचेतना तथा आँखादानप्रति जनमानसको धारणा जस्ता विषयहरूमा महत्त्वपूर्ण तथ्यहरू समेटेको छ ।
अध्ययनले दृष्टिविहीनता र अन्धोपनका प्रमुख कारणहरूमा मोतियाविन्दु र दृष्टि दोष रहेको देखाएको छ । यस्तै आँखा दानबारे जानकारी भए पनि दानमा रुचि कम भएको देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले यो अध्ययनले आँखा स्वास्थ्यमा अझै पनि सचेतना पुग्न नसकेको बताउनुभयो । तिलगङ्गाकी प्रमुख कार्यकारी अधिकृत तथा अध्ययनकी प्रमुख अनसुन्धानकर्ता डाक्टर रीता गुरुङले आँखा स्वास्थ्यलाई सुदृढ गर्न व्यापक स्वास्थ्य प्रणालीभित्र आँखा हेरचाहलाई एकीकृत गर्न आवश्यक रहेको बताउनुभयो ।











