काठमाण्डाै । प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिबायोटिकको दुरुपयोगले मानिससहित खानेपानी, बोटबिरुवा र वातावरणमा सङ्क्रमणबाट बचाउने क्षमता घट्न थालेको छ ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका अवसरमा स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै सूक्ष्म जीव विज्ञ डाक्टर पल्पसा कंसाकारले ब्याक्टेरिया, ढुसी र भाइरस समयसँगै परिवर्तन भएर हामीले प्रयोग गर्दै आएका एन्टिबायोटिकले काम गर्न छोडेपछि रोग निको नहुने अवस्था आउन थालेको बताउनुभयो ।
उहाँका अनुसार ब्याक्टेरिया भाइरसले पनि रोग प्रतिरोध क्षमता विकास गर्दै जाने भएकोले समस्या बढेको हो । यस्तो समस्या घटाउनका लागि एन्टिबायोटिकको जिम्मेवार प्रयोग, सरसफाइ र निगरानी प्रणालीलाई सुदृढ पार्नुपर्ने स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाका वरिष्ठ औषधि व्यवस्थापक उषा तण्डुकारले बताउनुभयो ।
एन्टिबायोटिकको दुरुपयोगले विश्वमा हरेक वर्ष प्रत्यक्ष तथा अप्रत्यक्ष गरी झन्डै ५० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ । यस वर्षको विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ भन्ने नाराका साथ मनाइएको छ ।











