काठमाण्डौ । कान्ति लोकपथको एकान्तकुना खण्ड ६० दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथ सडक योजना अन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङको काम भइरहेकाले त्यो क्षेत्रमा ६० दिनसम्म गाडी चलाउन बन्द गरिने जनाएको छ ।
सार्वजनिक सूचना निकाल्दै जिल्ला प्रशासनले पर्सि मंसिर २० गतेदेखि ६० दिनका लागि दैनिक बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सडक खण्ड बन्द हुने जनाएको छ । योजनाअन्तर्गत आवश्यक प्राविधिक काम छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न सडक बन्द गरिने प्रशासनले जनाएको छ ।
यस अवधिमा लोकपथ हुँदै यात्रा गर्ने गाडी तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । यो सडकको विकल्पमा कुलेखानी–कलङ्की–हुमाने सडक, कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक, कुलेखानी–सिस्नेरी–दक्षिणकाली (फर्पिङ) सडक प्रयोग गर्न सकिनेछ ।











