काठमाण्डाै । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उहाँको शोकमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।
पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेता उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । बैठकले मङ्सिर २९, पुस १ र २ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
नेता उपाध्यायको क्यान्सर रोगको उपचारका क्रममा अस्ति शनिवार ९१ वर्षको उमेरमा निधन भएको थियो । उहाँको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयले जनाएको छ ।
२०४८ सालमा राष्ट्रियसभा सदस्यमा मनोनीत उपाध्याय २०५६ सालमा भएको उपचुनावमा मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । २०५६ सालमा शिक्षा तथा खेलकुदमन्त्री रहनुभएका उपाध्याय २०६४ सालको संविधानसभा सदस्य चुनावमा मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो ।
समाजसेवा र अध्ययनमा विशेष रुचि राख्ने उपाध्यायका विभिन्न पत्रपत्रिकाहरूमा लेख रचनासमेत प्रकाशित भएका छन् ।











