सिरियाको पल्माइरा शहरमा भएको इस्लामिक स्टेट (आईएस)का बन्दुकधारीको आक्रमणमा ३ जनाको ज्यान गएको छ । जसमा २ जना अमेरिकी सैनिक र १ जना अमेरिकी नागरिक रहेको बीबीसीले जनाएको छ ।
अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आक्रमणमा थप ३ जना सैनिक घाइते भएका छन् । अमेरिकी र सिरियाली टोली गस्तीको क्रममा रहेका बेला यो आक्रमण भएको खबरमा उल्लेख छ ।
घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत आक्रमणको कडा प्रतिकार गर्ने चेतावनी दिनुभएको छ । सिरिया सरकारले घटनाको निन्दा गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
अमेरिकाले सन् २०१५ देखि आईएसविरुद्धको अभियान अन्तर्गत सिरियामा सैनिक उपस्थिति कायम राख्दै आएको छ । राष्ट्रसंघका अनुसार अहिले पनि सिरिया र इराकमा आईएसका ५ हजारदेखि ७ हजार लडाकु सक्रिय छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।











