काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको समस्यालाई निकास दिन फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य चुनाव नै उच्चतम विधि भएको बताउनुभएको छ ।
काठमाण्डाै महानगरपालिकाको महानगर दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले देशमा धेरै समस्याहरू रहेको र युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिनुको विकल्प नभएको बताउनुभयो ।
सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बन्न पाैडेलकाे आह्वान छ । इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पने दायित्व रहेको पनि उहाँले बताउनुभयो ।
राष्ट्रपति पाैडेलले नवीन सोच, शैली र योजना तथा त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेको उल्लेख गर्नुभयाे ।











