सिँचाइका २२ वटा रुग्ण ठेक्का तोडियो : ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ

काठमाण्डौ । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र सिँचाइतर्फका २२ वटा रुग्ण ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का तोडिएको हो ।

भेरी बबईको १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ । जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।

त्यसपछि सम्बन्धित कार्यालयहरुले वर्षौंदेखि समस्याग्रस्त ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका थिए । जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत चालू ठेक्का २ सय १५ छन् । त्यसमध्ये ३३ ठेक्का समस्याग्रस्त छन् । समस्याग्रस्तमध्ये अहिलेसम्म २२ वटा तोडिएको विभागका महानिर्देशक मित्र बरालले जानकारी दिनुभयो ।

सिँचाइतर्फको सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तोडिएको छ । आयोजनाको बाँध (हेडवर्कस), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोडिएको हो । आयोजना निर्माणका लागि पटेल–रमण जेभीसँग १४ अर्ब ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search