एलन मस्क ६ खर्ब डलर बराबरको सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति

अमेरिकी अर्बपति एलन मस्क ६ खर्ब अमेरिकी डलर बराबरको सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति हुनुभएको छ । फोर्ब्सका अनुसार सोमवार मस्कको कुल सम्पत्ति ६ खर्ब डलर नाघेको र अहिले झन्डै ६ खर्ब ७७ अर्ब डलर पुगेको छ ।

मस्कको सम्पत्ति तीव्र गतिमा बढ्नुमा उहाँको अन्तरिक्ष कम्पनी स्पेसएक्स रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । स्पेसएक्सको मूल्याङ्कन अहिले ८ खर्ब डलर पुगेको छ । मस्कसँग स्पेसएक्सको झन्डै ४२ प्रतिशत स्वामित्व छ । स्पेसएक्सको मूल्याङ्कन वृद्धिबाट उहाँको सम्पत्तिमा १ खर्ब ६८ अर्ब डलर थपिएको खबरमा उल्लेख छ ।

यसअघि गएको अक्टोबरमा मस्क ५ खर्ब डलरको आँकडा पार गर्ने पहिलो व्यक्ति बन्नुभएको थियो । यो नयाँ रेकर्ड उहाँको लागि अर्काे ठूलो उपलब्धि हो ।

यसका साथै मस्कको सम्पत्तिमा उहाँको विद्युतीय कार कम्पनी टेस्लाले पनि योगदान पुर्‍याएको छ । बिक्रीमा थोरै गिरावट आए पनि यस वर्ष अहिलेसम्म टेस्लाको शेयर १३ प्रतिशतले बढेको छ । टेस्लामा मस्कको झन्डै १२ प्रतिशत स्वामित्व छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search