काठमाण्डाै । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने झन्डै १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
हिजाे बसेकाे मन्त्रिपरिषद् बैठकले एडीबीबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताउनुभयो ।
यस्तै बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिकाको जग्गा तथा त्यसमा बनेको भवनसमेत रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालका नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर छुट दिने निर्णय गरेको छ ।
खरेलका अनुसार बैठकले यही पुस १२ देखि १४ गतेसम्म काठमाण्डाैमा सञ्चालन हुने नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको नवौं बैठकमा सहभागी हुन कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिवको संयोजकत्वको प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि कृषि मन्त्रालय अन्तर्गत सञ्चालित सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । बैठकले युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ ।











