युद्धग्रस्त सुडानको कोर्दोफानमा ड्रोन आक्रमणमा कम्तीमा १०४ जना सर्वसाधारणको ज्यान गएको छ । तेस्रो वर्षमा प्रवेश गरेको क्रूर गृहयुद्धमा प्रतिद्वन्द्वी सैन्य गुटहरूबीचको लडाइँ घातक नयाँ उचाइमा पुगेको बेला कोर्दाेफान क्षेत्रमा ड्रोन आक्रमणमा सय जनाभन्दा धेरैको ज्यान गएको समाचार संस्था अलजजीराले जनाएको छ ।
डिसेम्बरको शुरूदेखि नै शुक्रवारसम्म एक हप्ताको तीव्र लडाइँपछि बाबनुसामा अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले एउटा महत्त्वपूर्ण सैन्य अड्डा कब्जा गरेपछि आक्रमणहरू मध्य क्षेत्रमा केन्द्रित भएका छन् ।
मुख्य लडाइँ पश्चिमको डार्फरबाट विशाल मध्य क्षेत्र कोर्दोफानमा सर्दै गर्दा बढ्दो तनावका कारण दशौं हजार मानिसहरू विस्थापित भएका तथा हैजा र डेङ्गीको प्रकोपले पहिले नै तनावग्रस्त स्वास्थ्य सुविधाहरू प्रभावित भएका खबरमा उल्लेख छ ।
सबैभन्दा घातक आक्रमण दक्षिण कोर्दोफानको कालोगीमा रहेको एउटा किन्डरगार्टेन र अस्पतालमा भएको रिपोर्ट गरिएको छ, त्यहाँ भएको आक्रमणमा ४३ बालबालिकासहित ८९ जनाको ज्यान गएको थियो ।










