संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ६ का कृषक भिम कुमार थापा सम्मानित भएका छन् । एकै खलामा धेरै धान उत्पादन गरेको भन्दै कृषक थापालाई वडा कार्यालयले नगद ३० हजार रुपैंया र सम्मान पत्रसहित बुधबार सम्मान गरिएको हो । कृषक थापाको खलामा नै पुगेर वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ, वडा सदस्यहरु र कर्मचारीहरुले सम्मान गरेका हुन् । थापाले एकै खलामा ६५ मुरी धान उत्पादन गरेका थिए । खेत बाँझो नराख्न गरिएको प्रयासले पुरस्कृत भएकोमा कृषक थापाले खुशी व्यक्त गरे ।

आर्थिक वर्ष २०८२/०८३ मा वडाबाट बिनियोजित रकमबाट सम्मान गरिएको हो । पछिल्लो समय शहर बसाईसराई गर्ने, वैदेशिक रोजगारमा जाने, जनशक्ति कम हुँदै गएपछी खेतियोग्य जमिन बाँझो हुनेक्रम बढेको छ । सोहीक्रमलाई रोक्न र किसानलाई प्रोत्साहन गर्न सम्मान गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

वडा कार्यालयले गत वर्ष देखि धेरै धान उत्पादन गर्ने कृषकलाई सम्मान गर्दै आएको हो । गतवर्ष ५० मुरी धान फलाएका किसान सलबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।












