पाँचखपनमा १० दिने अपांगता परिचयपत्र नवीकरण घुम्ती शिविर सुरु

संखुवासभाको पाँचखपन नगरपालिकाका वडाहरुमा १० दिने घुम्ती शिविर सुरु भएको छ । ९ ओटा वडा रहेको पाँचखपनमा सोमबार देखि अपांगता परिचयपत्र दर्ता, नवीकरण, जेष्ठ नागरिक परिचयपत्र दर्ता शिविर सुरु भएको हो । हरेक नयाँ आर्थिक वर्षमा परिचयपत्र नवीकरण र दर्ता गरिए पनि अपांगताहरुको वर्ग निर्धारणका लागि अध्यावधिक गर्नुपर्ने भएकाले शिविर सञ्चालन गरिएको हो । जसमा सुधार भएका अपांगता भएकाहरुको सुविधा कटौती तथा समस्या थप हुँदै गएकाहरुको वर्ग थप गर्नुपर्ने भएकाले शिविर नै आयोजना गर्नुपर्ने भएको हो । शिविरमा सहभागि हुन नसक्ने अवस्थाका अपांगता भएका व्यक्तिहरुका लागि भिडियो तथा फोटोका माध्यमबाट समेत सेवा दिइएको वडा अध्यक्ष टेक बहादुर बुढाथोकीले बताउनु भयो ।

वडा नं. १ मा आजबाट सुरु गरिएको शिविरमा २७ जना लाभग्राहीले सेवा लिएका छन् । जसमा २० जना अपांगता भएकाहरुको नवीकरण, ६ जनाको नयाँ अपांगता परिचयपत्र दर्ता र १ जना जेष्ठ नागरिकलाई परिचयपत्र जारी गरिएको छ । वडा नं. १ मा यसअघि ४३ जना अपांगता भएका व्यक्तिहरु रहेका थिए ।

पाँचखपन नगरपालिकामा ४ सय ८१ जना अपांगता भएका व्यक्तिहरु छन् । जसमा ३ सय ४८ जना अपांगता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा भक्ता लिइरहेका छन् । स्थानीय तहहरुको तुलनामा सबैभन्दा बढी सामाजिक सुरक्षा भत्ता लिने अपांगता भएका व्यक्तिहरुको संख्या पाँचखपनको रहेको छ । जसका कारण अपांगता भएकाहरुको अध्यावधिकका लागि स्वास्थ्यकर्मी लगायत जनप्रतिनिधिहरुको उपस्थितिमा स्वास्थ्य परिक्षणसहित शिविर सञ्चालन गरिएको नगर उप प्रमुख सुमुना श्रेष्ठले बताउनु भयो ।

पाँचखपनमा १ सय ४६ जना रातो अपांगता परिचय पत्र र २ सय २ जना नीलो अपांगता परिचय पत्र जारी गरिएका अपांगता भएका व्यक्तिहरु छन् । शिविर प्रत्येक वडा कार्यालयको केन्द्रहरुमा बिहान १० देखि ४ बजेसम्म सञ्चालन भई पौष १६ गते सम्पन्न हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search