कास्की । पोखरामा आउँदो माघ ९ देखि १७ गतेसम्म ‘टाइगर कप’ राष्ट्रिय/अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराका अनुसार छैटौँ संस्करणको महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।
टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितामा सात महिला तथा सात पुरूष गरी १४ टोलीले प्रतिस्पर्धा गर्ने निश्चित भएको जानकारी दिनुभयो । महिलातर्फ थाइल्यान्डका दुई तथा पुरुषतर्फ माल्दिभ्सको राष्ट्रिय टोली र भारत गुजरातको एक गरी चार विदेशी टोलीको सहभागिता रहनेछ ।
महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड, थाइल्यान्ड क्विन्स, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब रुपन्देहीको सहभागिता रहनेछ ।
त्यसैगरी पुरुषतर्फ माल्दिभ्स भलिबल एशोसिएसन, भारतको गुजरात भलिबल क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, पर्वत जिल्ला भलिबल सङ्घ तथा विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपीएफ क्लबको सहभागिता रहनेछ ।
च्याम्पियन हुने महिला तथा पुरुष टोलीले समान ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले तीन लाख ६६ हजार ६ सय ६६ रुपैयाँ तथा तेस्रो हुने टोलीले एक लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष शर्माले बताउनुभयो ।











