काठमाण्डाै । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनसम्बन्धी घटनाको जाँचबुझ गर्न गठित आयोगमा बयान दिने निर्णय गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता लेखकले आउँदाे साेमवार आयोगमा उपस्थित भएर बयान दिने बताउनुभएको हो । भदाै २३ र २४ गतेको घटनाको बारेमा जाँचबुझ गर्न गठित आयोगले आफूलाई घटनाका बारेमा जानकारी लिन बोलाएको र आफूले बयान दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भाद्र २३ र २४ गतेको घटनाको बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु ।’
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलाएको थियो । आयोगले लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ ।











