काठमाण्डाै । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले देशलाई बङ्गलादेश बन्न दिन नहुने बताउनुभएको छ । आज बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाललाई बङ्गलादेश बनाउन दिन नहुने बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी गर्नुभयो । उहाँले राजनीतिक दल र नवयुवाका समूहले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको बताउनुभयो । उहाँले सबैतिरबाट गाली आएको भन्दै दिक्दारी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी अचानो जस्तो पो रहेछौँ । राजनीतिक दलले पनि गाली गर्छ । अहिले छोड्, भोलि छोड् भन्छ । जेनजीले पनि आजै छोड्, भोलि छोड्, पर्सि छोड् भन्छ । छोडौँ भने के छोडौँ ? हामी त पेण्डुलम जस्तो भयौँ । त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गर्दैछौँ । देश बङ्गलादेश नहोस् भन्ने सुरमा हामी छौँ ।’
प्रधानमन्त्री कार्कीले कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरू रहेको बताउनुभयो ।











